काठमाडौं - नेकपा एमालेका किरण थापा मगरले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

प्रदेश सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका १२ सांसदले समर्थन गर्ने सहमति भएपछि ६३ सांसदको समर्थन आज थापामगरले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । 

थापाको दाबी पेसका लागि एमालेका संसदीय नेता जगन्नाथ थपलिया, राप्रपा नेता उद्धव थापा, नेकपा दलका नेता शालिकराम जम्काट्टेलले समर्थन पत्रमा हस्ताक्षर गरेका छन् । 

मंगलबार बसेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकले हालका संसदीय दलका नेता जगन्नाथ थपलियालाई भने सोही जिम्मेवारीमा निरन्तरता दिने र थापालाई मुख्यमन्त्री बनाउने सहमति गरेको थियो ।

बैठकमा एमालेका २५ जना प्रदेशसभा सदस्यका साथै बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेल र पार्टी सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतको सहभागिता रहेको थियो।

एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच बनेको नयाँ राजनीतिक समीकरणअनुसार प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्दा बागमती प्रदेश एमालेको भागमा परेको थियो। त्यसपछि मुख्यमन्त्री बन्ने आकांक्षासहित एमालेभित्रै नेताहरूबीच प्रतिस्पर्धा सुरु भएको थियो।

मुख्यमन्त्रीको दाबेदारका रूपमा संसदीय दलका नेता जगन्नाथ थपलिया र किरण थापाबीच मुख्य प्रतिस्पर्धा देखिएको थियो। पार्टीभित्र देखिएको मतभेद अन्त्य गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत सम्बन्धित नेताहरूसँग पटक–पटक छलफल गरेका थिए। अन्ततः थापालाई मुख्यमन्त्रीका रूपमा अघि बढाउने सहमति जुटेको थियो।

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार बनाउन कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६ र एमालेका २५ सांसद छन्। एमालेका २५ सांसदमध्ये अप्सरा चापागाईं उपसभामुखको जिम्मेवारीमा छन्।

त्यस्तै, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। यसअघि तटस्थ बस्ने निर्णय गरेको राप्रपाले अहिले सरकार गठनको प्रक्रियामा सघाउने भएपछि बहुमत पुग्ने देखिन्छ।

यसअघि एमाले र नेकपाका सांसदको संख्या जोड्दा ५१ पुग्ने देखिएको थियो ।। जुन सरकार गठनका लागि आवश्यक ५३ सदस्यको समर्थनभन्दा दुई कम हो। 

यसअघि नेकपा एमालेले गत साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि छैटौँ मुख्यमन्त्री बनेका इन्द्रबहादुर बानियाँ अल्पमतमा परेपछि विश्वासको मतसम्बन्धी प्रक्रिया अघि नबढाई राजीनामाको घोषणा गरेका थिए ।