काठमाडौं - बलिउडका दुई चर्चित अभिनेता ऋतिक रोशन र टाइगर श्राफ बहुप्रतीक्षित फिल्म ‘वार’मा आमनेसामने देखिँदै छन् । टाइगरले भर्खरै पोस्टर सेयर गर्दै इन्स्टाग्राममा क्याप्सन लेखेका छन्, ‘यसपटक युद्धमा केवल एकजना नै विजेता बन्छ ।’ यता, ऋतिकले पनि पोस्टर सेयर गरेका छन् । ‘म आफ्नो शब्दभन्दा धेरै जवाफ एक्सनबाट दिनेछु । तिमीसँग २ अक्टोबरमा भेटौँला,’ उनले लेखेका छन् । 

बलिउडका दुई ठूला एक्सन स्टारको अभिनय रहेको यस फिल्मलाई धेरै फ्यानले प्रतीक्षा गरिरहेका छन् । पोस्टरमा दुवैले पेस्तोल बोकेर निसाना साँधिरहेको देखिन्छ ।

वाणी कपुर भने ग्ल्यामरस पोजमा देखिएकी छिन् । टाइगर पछिल्लो समय आफ्नो एक्सन र डान्सका कारण चर्चामा छन् र धेरैले ऋतिकसँग उनको तुलना गर्छन् । २ अक्टोबरमा रिलिज हुने वारको पोस्टर इंग्लिस, तमिल र तेलगूमा जारी गरिएको छ । यो फिल्म तीनवटै भाषामा रिलिज हुनेछ ।