काठमाडौं - प्रा. डा. ढुण्डीराज पौडेलले नेपाल मेडिकल काउन्सिलको अध्यक्षको जिम्मेवारी सम्हालेका छन्।
बुधबार उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
नाक, कान तथा घाँटी रोग विशेषज्ञका रूपमा परिचित डा.पौडेल हाल नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा ईएनटी विभागको नेतृत्व गर्दै प्राध्यापनसमेत गर्दै आएका छन्।
चिकित्सा क्षेत्रमा लामो अनुभव हासिल गरेका उनले यसअघि वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल र दाङ अस्पतालमा विभिन्न भूमिकामा रहेर सेवा गरेका थिए।
यसैगरी डा. पौडेलले त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमबीबीएस पूरा गरेका हुन्। त्यसपछि उनले नाक, कान तथा घाँटी शल्य चिकित्सामा एमएस अध्ययन गरी गोल्ड मेडल प्राप्त गरेका थिए।
यसअघि उनले काउन्सिलको नैतिकता तथा परीक्षा समितिमा कार्यकारी सदस्य र समन्वयकर्ताको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

.gif)


