काठमाडौं - नेपाली कांग्रेसको संस्थापन पक्षले १५औं महाधिवेशन प्रक्रिया अघि बढाएपछि इतर पक्ष त्यसविरुद्ध सर्वोच्च अदालत जाने भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार साँझ मात्र १५औं महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको थियो । जसअनुसार भदौ २४ गतेदेखि महाधिवेशनका लागि अधिवेशनहरु हुनेछन् ।

संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढाएपछि ‘पार्टीको आधिकारिकतासम्बन्धी विवाद विचाराधीन रहेको’ भन्दै इतर पक्ष अदालत जाने भएको हो ।

इतर समूहको प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले महाधिवेशन प्रक्रिया तत्कालका लागि रोक्न माग गर्दै आफूहरू सर्वोच्च जाने तयारीमा रहेको बताए । उनले भने, ‘अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै एक पक्षले त्यो विषयलाई एकतर्फी रूपमा अगाडि बढाउन स्वाभाविक रूपमा मिल्दैन । तर, प्रक्रिया अगाडि बढाइएको छ । हाम्रो पक्षबाट अदालतमा त्यस विषयमा निवेदन पर्छ ।’

संस्थापन इतर समूहले गठन गरेको नेता रमेश लेखक संयोजकत्वको कानुन तथा विधान समिति अदालत जाने बताइएको छ । यद्यपि, अदालत जाने मिति भने तय भइसकेको छैन ।