काठमाडौं - संसदमा आफ्ना सांसद तथा मन्त्रीहरूको व्यवहार र अभिव्यक्तिलाई लिएर आलोचना बढेपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्तरिक रूपमा छलफल गरेको छ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सभापति रवि लामिछानेको उपस्थितिमा भएको छलफलमा संसदमा पार्टीका तर्फबाट हुने प्रस्तुतिका विषयमा समीक्षा गरिएको छ।
बैठकमा सांसद र मन्त्रीहरूले संसदमा बोल्दा प्रयोग गर्ने भाषा तथा देखाउने व्यवहारबारे विशेष रूपमा छलफल भएको जनाइएको छ। पछिल्ला बैठकमा प्रश्नोत्तरका क्रममा मन्त्रीहरूको जवाफ चेतावनीपूर्ण हुने गरेको र सांसदहरूले पनि आफ्ना माग पूरा नभएपछि आक्रोशित तथा अमर्यादित शैली अपनाउने गरेको भन्दै आलोचना हुँदै आएको छ।
यही पृष्ठभूमिमा जनताका सरोकारका विषयलाई संसदमा कसरी प्रभावकारी र मर्यादित ढंगले उठाउने भन्नेबारे पार्टीभित्र छलफल गरिएको हो।
बैठकमा सभापति लामिछानेले संसद्मा प्रश्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्बन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो व्यक्त गरेका छन्। लामिछानेले जिम्मेवार, संयमित र प्रभावकारी बन्न पनि सांसद तथा मन्त्रीहरूलाई आग्रह गरेका छन्।

.gif)


