काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्रीसहित प्रतिनिधिसभामा रहेका सांसदहरूको बैठक बोलाएका छन् । उनले आज बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।
संसद् तथा संसदीय समितिमा रास्वपाका केही सांसदले प्रयोग गरेको भाषा, अभिव्यक्ति र गतिविधिको विषयमा प्रश्न उठेपछि सभापति लामिछानेले बैठक आह्वान गरेको बताइएको छ ।
बैठकमा संसद् र समितिमा सांसदहरूले प्रयोग गर्ने भाषा तथा प्रस्तुत हुने शैलीबारे छलफल हुनेछ । विशेषगरी मर्यादा र अनुशासनसँग जोडिएका विषयमा प्रश्न उठेका सांसदलाई लामिछानेले आवश्यक निर्देशन दिने तयारी गरेको बताइएको छ ।
पछिल्लो समय रास्वपाकै केही सांसद सरकारको कामकारबाहीप्रति सार्वजनिक रूपमा आलोचनात्मक देखिन थालेपछि लामिछानेले मन्त्रीहरूलाई समेत बैठकमा बोलाएका हुन्। पार्टी सरकारमा सहभागी रहेकै अवस्थामा आफ्नै सांसदहरूबाट सरकारको आलोचना हुनुको कारणबारे पनि बैठकमा गम्भीर छलफल हुने बताइएको छ।

.gif)


