काठमाडौं - नेपाल र ओमनबीच श्रम सहमति हुने भएको छ । लामो समयको छलफल र वार्तापछि ओमनसँग श्रम सहमति हुन लागेको हो ।

नेपाली कामदारको चर्चित रोजगार गन्तव्य ओमानसँग सरकारले श्रम सहमति गर्ने तयारी गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको हो। मस्यौदा श्रम सहमतिलाई मन्त्रिपरिषद बैठकले पारित गरिसकेकोले मन्त्रालयले बताएको छ ।

नेपाल र ओमनले लामो समयदेखि  श्रम सहमति लागि गृहकार्य गरिरहेका थिए । लामो समयको छलफलपछि दुबै मुलुकबीच मस्यौदा सहमतिमा सहमति जुटेको छ । केही समयभित्रै नै उक्त मस्यौदालाई औपचारिकता दिने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

श्रम सहमतिका लागि सरकारले ओमनका सम्बन्धित मन्त्रीलाई नेपाल आउन निमन्त्रणा गरेको छ ।

नेपाल र ओमानबीच अन्तर्राष्ट्रिय कानुन र मान्यता अनुसार श्रम सहमित हुन लागेको हो । सहमतिमा नेपाली कामदारले पाउने सेवा सुविधा र हितलाई केन्द्रमा राखिएको मन्त्रालयले जनाएको छ ।

मस्यौदा श्रम सहमतिमा निम्न कुरा उल्लेख गरिएको छः

१, मस्यौदा सहमतिमा कामदार छनौट र भर्ना प्रक्रियामा लाग्ने शुल्क सम्बन्धित रोजगारदाताले नै व्यहोर्ने

२. व्यवसायजन्य दुर्घटना वा रोग लागेमा उपचार खर्च रोजगारदाताले नै व्यहोर्ने

३, रोजगारदाताको कमी(कमजोरीका कारण कामदार वेरोजगार हुने अवस्था आएमा कामदारले वैकल्पिक रोजगारीको खोजी गर्ने सक्ने

४. नेपाली कामदारलाई ज्याला, ओभरटाइम भत्ता, कार्य वातावरण र न्यायमा पहुँच जस्ता विषयमा विभेद गर्न नपाइने

५. महिला कामदारका लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपायहरु अपनाइने

६. राहदानीलगायत व्यक्तिगत परिचयसम्बन्धी कागजात श्रमिकले आफैंसँग राख्न पाउने

७. कामदारको मृत्यु भएमा शव नेपालमा ल्याउन लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै व्यहोर्ने

सरकारले यसैवर्ष मलेसिया, जापान, यूएई र मोरिसससँग श्रम समझदारी गरिसकेको छ । ओमानसँग भने विभिन्न प्राविधिक कारणले श्रम सहमति हुन सकेको थिएन ।