पतञ्जलि जग्गा प्रकरण: माधव नेपालसहितको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदै
काठमाडौं - पूर्वप्रधानमन्त्री एवम नेकपाका सहसंयोजक माधव कुमार नेपालसहित ९३ जनाविरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा आज सुनुवाइका लागि पेसी तोकिएको छ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न पौडेलको इजलासमा मुद्दाको पेसी तोकिएको छ।
पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनीको हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषदबाट बिक्री गर्न दिएर अनियमितता गरेको भन्दै गत २२ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गरेको थियो । नेपालले ठाडो आदेशमा २०६६ माघ १८ गते ठाडो आदेशमा पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्न दिलाएको अभियोग पत्रमा दाबी गरिएको छ ।
३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भई भ्रष्टाचार गरेको अभियोगमा ९३ जनाविरुद्ध मुद्दा दायर भएकोमा अख्तियारले १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरेको थियो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपाल लगायतमाथि यसअघि भ्रष्टाचार मुद्दा दर्ता गर्नुअघि अनुसन्धान गरेर तामेलीमा राख्ने निर्णयको फाइल झिकाउन आदेश दिएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस