काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने गतिविधिमाथि केन्द्रीय अनुशासन समितिले कडा निगरानी र कारबाहीको चेतावनी दिएको छ ।

पार्टीको नाममा आधिकारिक अधिवेशन प्रक्रियाभन्दा बाहिरका गतिविधि भइरहेको भन्दै अनुशासन समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अघि बढाएको समानान्तर अधिवेशनलाई लक्षित गर्दै समितिले पार्टी हितविपरीत तथा अनुशासन उल्लङ्घन हुने गतिविधिमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउने स्पष्ट पारेको छ।

अनुशासन समितिका कार्यवाहक संयोजक रमेश धमलाले पदाधिकारी, निर्वाचित प्रतिनिधि, जनप्रतिनिधि तथा क्रियाशील सदस्यसहित सबैलाई पार्टीको नीति, विधान र अनुशासनको सीमाभित्र रहेर गतिविधि गर्न निर्देशन दिएका छन्।

पार्टीका कतिपय पदाधिकारी, नेता तथा जनप्रतिनिधिहरू नै पार्टीको नाममा हितविपरीतका गतिविधिमा संलग्न रहेको सूचना प्राप्त भएको समितिले जनाएको छ। त्यस्ता गतिविधिमाथि समितिले गम्भीरतापूर्वक निगरानी गरिरहेको धमलाले बताएका छन्।