काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि राष्ट्रिय टोली घोषणा गरेको छ।
क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
टोलीमा सन्दीपसहित आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल रहेका छन्।
यसपटक कुशल भुर्तेल टोलीमा परेका छैनन्। लिग–२ का खेल आगामी अक्टोबर ७ देखि ओमानमा सुरु हुँदै छन्। यो सिरिजमा नेपाल, ओमान र क्यानाडाबीच त्रिकोणात्मक भिडन्छ हुनेछ ।
शीर्ष चारमा पुग्ने लक्ष्यमा रहेको नेपालका लागि ओमान भ्रमण महत्वपूर्ण मानिएको छ।
नेपालले लिग–२ मा हालसम्म ३२ खेल खेलेको छ। त्यसमध्ये ११ खेल जित्दा १९ खेलमा पराजित भएको छ भने नेपालले २४ अंक जोडेको छ। तालिकामा नेपाल सातौँ स्थानमा रहेको छ।
लिग–२ मा ३६ खेलबाट ४५ अंक जोडेको स्कटल्यान्ड शीर्ष स्थानमा छ। अमेरिका ३२ खेलबाट ४३ अंकसहित दोस्रो स्थानमा छ।
त्यसपछि नेदरल्यान्ड्स ३८, ओमान ३१, नामिबिया २८, क्यानडा २५, नेपाल २४ र यूएई १८ अंकसहित क्रमशः तेस्रोदेखि आठौँ स्थानमा छन्।
विश्वकप लिग–२ को शीर्ष चारमा पुग्न नेपालले बाँकी खेलमा नतिजा आफ्नो पक्षमा पार्नुपर्ने दबाब छ।

.gif)


