काठमाडौं-निर्वाचन प्रहरीका लागि कपडा खरिदमा अनियमितताको प्रश्न उठेपछि संसद्को सार्वजनिक लेखा समितिले अध्ययन समिति गठन गरेको छ।

शुक्रबार बसेको लेखा समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको नेतृत्वमा नौ सदस्यीय अध्ययन समिति गठन गरेको हो। 

समितिमा ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य छन्।

अध्ययन समितिले दुई महिनाभित्र प्रतिवेदन तयार गरी लेखा समितिसमक्ष बुझाउनुपर्नेछ।

निर्वाचन प्रहरीको पोसाक खरिदमा ६० करोड हिनामिना भएको भन्दै लेखा समितिमा उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उजुरीमाथि छलफल भएको थियो।

बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले प्रहरी प्रधान कार्यालयको निर्देशनमा जिल्लाका कमाण्डर र लेखापालहरूले गर्ने काममा पारदर्शिता नभएको र प्रहरी सेवाबाट अवकाशप्राप्त लेखापालहरू नै ठेकेदार बनेर प्रहरीभित्रै सक्रिय रहेर प्रहरी प्रशासनभित्र अनियमितता मौलाएको आरोप लगाएका थिए ।

साथै सांसद सुनारले  बैठकमा प्रहरी महानिरीक्षकमाथि प्रश्न उठिसकेकोले पदबाट हटाए छानबिन गर्नुपर्ने माग राखेका थिए ।