काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा एकै चरणमा प्रतिनिधिसभा निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरेकी छन्।

बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेस अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन दुई चरणमा नभई एकै दिन सम्पन्न हुने स्पष्ट पारिन्।

उनले भनिन्, “ढुक्क र निश्चिन्त हुनुस्। एकै दिनमा हुन्छ चुनाव। दुई चोटि हुनेवाला छैन। तोकिएकै मितिमा हुन्छ।”

प्रधानमन्त्री कार्कीले निर्वाचनको समयमा देशका सबै भूगोलमा मौसम पनि अनुकूल रहने विश्वास व्यक्त गरिन्। सबै मतदाताले कुनै अवरोधबिना मतदान गर्न पाउने उनको भनाइ छ।

“मलाई लाग्छ मौसम पनि राम्रो हुनेछ। सबैले मतदान गर्न पाउनुहुनेछ,” उनले भनिन्।

प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न भएपछि निर्वाचित प्रतिनिधिसभालाई सरकार हस्तान्तरण गरी वर्तमान सरकार घर फर्किने समेत बताइन्।