काठमाडौं - धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाको अर्बौं रुपैयाँ हिनामिना प्रकरणमा शिवकुमार विश्वकर्मा (लामिछाने० पक्राउ परेका छन् । 

सहकारीका हजारौँ बचतकर्ताको १० अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना तथा अपचलन गरेको आरोप लागेका लामिछानेलाई सुनसरीबाट पक्राउ गरिएको गृहमन्त्री सुधन गुरुङले जानकारी दिएका हुन् ।

गृहमन्त्री गुरुङका अनुसार बराह सहकारीमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको छ । उक्त रकम हिनामिनाका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएको उनले बताएका छन् ।

गुरुङले धरानमा ‘सेभ घोपा’ अभियान सञ्चालन गर्ने क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आवाज उठाउँदा पूर्वका सहकारी पीडित बचतकर्ताको पीडाबारे जानकारी पाएको स्मरण गरेका छन् ।

अभियन्ताका रूपमा रहँदा तथा जेनजी आन्दोलनपछिका प्रयासमा तत्काल केही गर्न नसके पनि गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि पूर्वका नागरिकलाई न्याय दिलाउने उद्देश्यले खोजी तीव्र पारिएको उनको भनाइ छ । 

बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूले धरानसहित देशभरका ४ हजार ७७२ जनाभन्दा बढी बचतकर्ताको १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि लामिछाने फरार रहेका थिए ।

संस्थाका अध्यक्षसहित सञ्चालकहरू फरार भएपछि रकम फिर्ताको माग गर्दै पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए । उजुरीका आधारमा सहकारीको नाममा रकम हिनामिना तथा अपचलन गरी ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी निरीक्षक दिनेश अधिकारीको नेतृत्वमा अनुसन्धान अघि बढाएको थियो ।

प्रहरी निरीक्षक अधिकारी नेतृत्वको अनुसन्धान टोलीले तयार पारेको प्रतिवेदनमा कुल १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ हिनामिना तथा अपचलन गरी ठगी गरिएको निष्कर्ष निकालिएको छ ।

सहकारीका मुख्य सञ्चालक मानबहादुर विश्वकर्मा, गंगा कालिकोटेलगायतका व्यक्ति भने अझै फरार रहेका छन्। 

उनीहरुको खोजी तथा कानुनी कारबाही प्रक्रिया पनि तीव्र बनाइने गृहमन्त्री गुरुङले बताएका छन् ।