काठमाडौं - मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रहरीले आफूलाई झुक्याएर बयान लिएको गुनासो गरेका छन् ।

आइतबार प्रहरी परिसरमा बयान दिएर निस्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले भने–‘मैले केही छ भनेर सोधेको, केही पनि छैन त्यत्तिकै आउनु न भनेर प्रहरीले बोलाउनुभयो। यहाँ आएपछि भएभरको बयान लियो। आजदेखि घुमाएर तारिखमा राखियो। अब २८ गतेलाई तारिख तोकिएको छ।’

प्रसाईंले भोलि चितवनमा हुने आफ्नो र्‍याली र सभालाई बिथोल्न र प्रभावित पार्न प्रहरीले आफूलाई नियोजित रूपमा दुःख दिएको आरोप लगाए।

देश जोगाउने, राष्ट्र जोगाउने र हिन्दु अधिराज्यको पक्षमा हुन लागेको चितवनको कार्यक्रमलाई प्रभावित पार्न आफूलाई यहाँ बोलाएर दुःख दिएको प्रसाईंको आरोप थियो । 

उनले नयाँ राजनीतिक शक्तिहरूको उदयसँगै निरंकुशताको अभ्यास सुरु भएको बताउँदै बालेन्द्र साह ‘बालेन’सत्तामा आए जनताको वाक स्वतन्त्रता खोसिने समेत चेतावनी दिए ।

सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाउने अभिव्यक्ति दिने समूहलाई बालेन र रास्वपाले संरक्षण गरेको आरोप लगाउँदै उनलले भने–‘अहिले त यत्तिको दमन छ भने भोलि पर्सि रास्वपाले भोट जितेर यो बालेन सरकार आयो भने यिनीहरूको विरुद्धमा कोही पनि बोल्न पाउँदैन।’