काठमाडौं - भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ तथा पूर्व विदेश मन्त्री सुषमा स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । 

न्यू दिल्लीको लोधी रोडमा रहेको विद्युतीय शवदाह गृहमा स्वराजको अन्तिम संस्कार गरिएको हो । अन्तिम संस्कारको सम्पूर्ण काम छोरी बाँसुरी स्वराजले गरेकी थिइन् । उनलाई स्वराजका श्रीमान् कौशल स्वराजले साथ दिएका थिए । 

सुषमा स्वराजको निधनमा भारत र विश्वभरिबाट नै ठूला नेताहरुले दुःख व्यक्त गरेका छन् । भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहसमेत ठूला नेताहरु स्वराजको घरमै पुगेर श्रद्धाञ्जली दिएका थिए ।  

सुषमा स्वराजको अन्तिम संस्कार यात्रामा पनि निकै ठूलो भीड लागेको थियो । राजनाथ सिंह, जेपी नड्डा, रवि शंकर प्रसाद, पीयूष गोयल लगायतले स्वराजको पार्थिव शरीरलाई काँध दिएका थिए ।  

प्रधानमन्त्री मोदी, लालकृष्ण अडवाणी, उपराष्ट्रपति एम वेंकैया नायडू, राजनाथ सिंह, भुटानका पूर्व प्रधानमन्त्री छिरिङ तोब्गेलगायतले विजेपी मुख्यालय पुगेर सुषमा स्वराजको अन्तिम श्रद्धाञ्जली दिएका थिए ।