काठमाडौं - रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको खोज, उद्धारका क्रममा नेपाली सेनाले हाल सम्म हवाई तथा जमिनी मार्गबाट गरी कुल १७७ जनाको सफल उद्धार गरेकाे छ । नेपाली सेनाका अनुसार बाढीबाट प्रभावितहरूको खोजी, उद्धार तथा राहत कार्य जारी रहदा आज (भाद्र ११ गते) बिहान ८:०० बजेसम्म १७७ जनाको सफल उद्धार भएकाे हाे ।
उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेनाले ५ वटा हेलिकप्टर परिचालन गरेको छ। हवाई साधनमार्फत हालसम्म ११४ जनाको उद्धार गरिएको छ, जसमध्ये भाद्र १० गते ९७ जना तथा आज बिहान मैलुङ टनेलबाट ३ र टिमुरेबाट १४ जना रहेका छन्। यस्तै, जमिनी मार्गबाट ६३ जनाको उद्धार गरिएको छ। रातभर सेनाका ११ वटा विशेष टोलीले जमिनी उद्धार कार्यलाई निरन्तरता दिएका थिए।
बाढीबाट प्रभावित नुवाकोटदेखि चितवनसम्मको क्षेत्रमा खोज, उद्धार तथा राहत वितरणका लागि २ हजार भन्दा बढी सैन्य फौज खटाइएको छ।

.gif)



