काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले देश अकल्पनीय विपत्तिमा परेका बेला सरकारले उद्धार तथा राहतलाई तीव्र बनाएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले बिहान ६ः३० बजेदेखि नै उद्धारका लागि हवाई उडान सुरु भएको र १५ भन्दा बढी उडान सम्पन्न भइसकेको बताएका हुन् । थप हेलिकोप्टरसमेत उद्धारका लागि तयारी अवस्थामा राखिएको उनले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीका अनुसार नेपाली सेनाको उद्धार टोलीले रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ९५ नेपाली र २१ भारतीय नागरिक रहेका छन्।
त्यसैगरी, टनेलभित्र फसेका सात जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।
प्रधानमन्त्री शाहका अनुसार प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री तीव्र रूपमा पुर्याउने काम भइरहेको छ। राहत सामग्रीसँगै जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम–ढुंगा काट्ने मेसिन प्रभावित क्षेत्रमा पठाइँदैछ।
सम्पर्कविहीन बनेका तथा सञ्चारमा समस्या देखिएका क्षेत्रलाई लक्षित गर्दै छिट्टै अस्थायी मोबाइल नेटवर्क र चार्जिङको व्यवस्था मिलाउने तयारी भइरहेको उनले बताए।
बाढी प्रभावित नागरिकको तत्काल व्यवस्थापनका लागि नुवाकोटमा अस्थायी शिविर तयार पारिएको छ। शिविरमा खाना तथा पानीको व्यवस्था मिलाइएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।
उद्धार अभियानलाई थप प्रभावकारी बनाउन ड्रोन सर्भेमार्फत प्रभावित क्षेत्रको अवस्थाबारे सूचना संकलन गर्ने काम अन्तिम चरणमा पुगेको छ।
हेलिकोप्टरमार्फत उद्धार गर्दा सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने प्रधानमन्त्री शाहले बताएका छन्।

.gif)


