काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भोटेकोसी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार, खानपान र बसोबासको सम्पूर्ण जिम्मेवारी सरकारले लिने बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै प्रधानमन्त्री शाहले विपद्को सामना गर्न सबै नेपाली एकजुट हुनुपर्ने बताएका हुन् । उनले विपद्को यस कठिन घडीमा राहत तथा उद्धार अभियानमा सहयोग गर्न सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकसँग अपिलसमेत गरेका छन्।
‘यस्तो विपद्को बेला हामी सबै एक ढिक्का हुनुपर्छ। म सम्पूर्ण सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन्।
प्रधानमन्त्री शाहले बाढी प्रभावित नागरिकलाई आफूहरू एक्लो नरहेको विश्वास दिलाउँदै राज्य सम्पूर्ण साधन–स्रोतसहित प्रभावितको साथमा रहेको बताएका छन्।
‘तपाईंहरूले भोग्नुपरेको पीडा र गुमाएको क्षति सानो छैन। तर म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु– यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न। राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ,’ उनले भनेका छन्।
बाढीका कारण क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका आयोजनालाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई सामान्य अवस्थामा फर्काउने प्रधानमन्त्री शाहले प्रतिबद्धता जनाएका छन्।
उनका अनुसार बाढीका कारण विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिनेछ। प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्नेदेखि क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणसम्म सरकार केन्द्रित हुने उनको भनाइ छ।
भोटेकोसी बाढीले विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएपछि सरकारले उद्धार तथा राहत अभियानलाई तीव्रता दिएको छ। प्रधानमन्त्री शाहले विपद्को सामना गर्न सरकारको प्रयासमा नागरिक तहबाट समेत सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन्।

.gif)


