काठमाडौं-रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका सम्बन्धमा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनका अनुसार चीनको तिब्बततर्फ नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेकाले माथिल्लो भोटेकोशी क्षेत्रमा बाढीको जोखिम अझै समाप्त भइसकेको छैन।
महाशाखाले भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा निरन्तर अनुगमन आवश्यक रहेको औँल्याउँदै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमै रहन आग्रह गरेको छ।
घटनाको समयक्रमअनुसार भदौ १० गते बिहान ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन गरिएको केही समयपछि ८ः५० बजेदेखि भोटेकोशीको स्याफ्रुबेँसी जलमापन केन्द्रबाट तथ्याङ्क प्राप्त हुन बन्द भएको थियो। बिहान ९ः०५ बजे तिब्बततर्फबाट ठुलो बाढी प्रवेश गरेको सूचना प्राप्त भए लगत्तै महाशाखाले तटीय क्षेत्रमा पूर्व सूचना र सतर्कता सन्देश प्रवाह गरेको थियो। यो बाढी बिहान १०ः२८ बजे धादिङको गल्छी आसपास, ११ः५० बजे मलेखु बजार र दिउँसो १ः०० बजे मुग्लिङ पार गर्दै ३ः२० बजे चितवनको देवघाट क्षेत्रमा पुगेको प्रतिवेदनमा उल्लेख छ।
बाढीको तीव्रता र बहावका कारण रसुवाको भोटेकोशी र स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती तथा धादिङको मलेखुमा रहेका जलमापन केन्द्रका उपकरणहरू बाढीले बगाएका कारण ती स्थानको यकिन तथ्याङ्क प्राप्त हुन सकेको छैन।
यद्यपि, धादिङको कालीखोला जलमापन केन्द्रमा दिउँसो २ः१४ बजे जलसतहले १२।१ मिटरको खतराको तह पार गरी अधिकतम १२.३ मिटरसम्म पुगेको रेकर्ड गरिएको छ। महाशाखाले निष्कर्ष निकाल्दै चीनतर्फ नदी थुनिएको स्थानमा बनेको तालको अवस्था अझै सामान्य नभएकाले भोटेकोशी–त्रिशूली नदी प्रणालीमा जुनसुकै बेला थप पानीको बहाव बढ्न सक्ने सम्भावना रहेको जनाएको छ।

.gif)



