धनगढी -सुदूरपश्चिम प्रदेशमा २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै सात हजारभन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । सुरक्षा चुनौतीको विश्लेषण गरी सोहीअनुसार प्रहरी तथा निर्वाचन प्रहरी परिचालन गरिने भएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार निर्वाचनका लागि प्रदेशभर सात हजार ५८ जना प्रहरी परिचालन हुनेछन् ।

प्रहरीसँगै निर्वाचन प्रहरी पनि सहायक भूमिकामा खटाइनेछ । उनका अनुसार प्रदेशका नौवटै जिल्लामा १३ हजार ६६९ जना निर्वाचन प्रहरी परिचालन गरिनेछ भने सशस्त्र प्रहरीतर्फ एक हजार ५१९ जना निर्वाचन प्रहरी खटाइनेछन् ।

२१ फागुनमा हुने निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा कुल १७ लाख १६ हजार ६७५ मतदाता रहेका छन् । तीमध्ये आठ लाख ६४ हजार ४२३ महिला र आठ लाख ५२ हजार २१९ पुरुष मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।