काठमाडौं - कोरोना भाइरसको कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पारिरहेको चर्चा चलिरहेको बेला ठूला पाँचतारे होटलहरु धमाधम बन्द हुन थालेका छन् ।
मनकामना केवुल कार चैत्र ३० गतेसम्मको लागि बन्द गरिएको छ भने चन्द्रागिरी केवुलकार बन्द गर्ने बारेमा एक दुई दिनमै निर्णय हुने भएको छ ।
पाँच तारे होटल हायात साढे १ महिनाको लागि बन्द गरिएको छ । अरु होटलहरु पनि पर्यटकलाई दिने सेवा सुविधा कटौती गर्नुका साथै बन्द गर्ने तयारी गरिहेका छन् । ती होटलहरुले थुप्रै कर्मचारीलाई ‘घरविदा’मा पठाएका छन् ।
भोलि शनिबारदेखि साढे १ महिनाको लागि वन्द गरिएको हायात होटलले कर्मचारीहरुलाई त्यतिन्जेलको अवस्था हेरेर थप जानकारी दिने सूचना दिएको छ । यो अवधिमा कोरोनाको प्रकोप न्यूनीकरण भएमा होटल संचालन गरिने अन्यथा बन्द थप लम्बिने जानकारी पनि कर्मचारीहरुलाई दिइएको छ ।
होटलका सञ्चालकहरु पर्यटक आवागमन ठप्प रहेको, सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएकोले सभा सम्मेलन पनि हुने अवस्था नरहेकोले आम्दानी ठप्प रहेको तर संचालन खर्च भने उच्च रहेकोले त्यसलाई नियन्त्रणको लागि होटल वन्द गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।
अर्को कालिमाटीमा रहेको देशकै सबभन्दा चर्चित पाँच तारे होटल सोल्टीले पनि दुई वटा ‘विङ्’मध्ये एउटा बन्द गरिसकेको छ । बत्तीसपुतलीस्थित होटल द्वारिकाजले पनि आफ्नो सेवा बन्द गरेको छ ।
मेरियट ग्लोबलले नेपालको मेरियटलाई बन्द गर्न सुझाब दिइसकेको छ । तर, होटल नयाँ भएकाले सबै सेवा बन्द गर्ने पक्षमा नरहेको नेपालको होटल मेरियटले जानकारी पठाएको बताइएको छ ।
अर्को होटल र्याडिसन पनि शुक्रबार साँझ सञ्चालक समितिको बैठक बसेर बन्द गर्ने बारेमा निर्णय गर्ने भएको छ । त्यसको लागि कर्मचारी संघका पदाधिकारीहरुसंग छलफल भैरहेको बताइएको छ । अन्नपुर्ण र याक एण्ड यति होटलको व्यवस्थापनले पनि बन्द गर्ने बारेमा मजदूर र र कर्मचारीहरुसँग कुराकानी गरिरहेका छन् । होटल वन्द भएको समयको क्षतिपूर्ती व्यवस्थापन कहाँबाट कसरी गर्ने भन्ने बारेमा टुंगो लागेपछि बन्दको घोषणा गरिने ती होटलको व्यवस्थापन पक्ष हेरिरहेका अधिकारीहरुले बताए ।
सरकारले शुक्रबारबाट सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल आदिलाई वैशाख १८ (३० अप्रिल २०२०) सम्म बन्द गर्ने निर्णय गरेको हो ।
अत्यावश्यक कामका बाहेक आवतजावत र हिँडडुल नगर्न सरकारले आग्रह गरेको छ । सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णय गरेको छ ।
सार्वजनिक सवारी साधनहरुमा सीट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायीलाई रोक लगाउने भएको छ । सर्वसाधारण नागरिकलाई भिडभाड गरी यात्रा नगर्न अनुरोध पनि गरेको छ ।

.gif)


