काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्स र चितवन राइनोजले काठमाडौं गोर्खाजको सामना गर्नेछन् ।

पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ । उक्त खेलमा कर्णाली र पोखरा आमनेसामने हुनेछन् । साँझ ५ बजे हुने दोस्रो खेलमा चितवन र काठमाडौं भिड्नेछन् ।

सुरुवाती दुई खेल जित्दै प्रतियोगितामा राम्रो सुरुआत गरेको कर्णालीले पछिल्ला दुई खेलमा भने लगातार हार बेहोरेको छ ।

चार खेलबाट दुई अंक जोडेको कर्णाली अहिले तालिकाको छैटौँ स्थानमा छ । प्लेअफको सम्भावना बलियो बनाउन उसलाई आजको खेल जित्नैपर्ने दबाब छ ।

यता, पोखरा एभेन्जर्सका लागि भने प्रतियोगिता निराशाजनक बनेको छ । चार खेल खेलिसक्दा पनि जितविहीन रहेको पोखरा अंकतालिकाको पुछारमा छ । त्यसैले पहिलो जितको खोजीमा रहेको पोखरालाई पनि आजको खेल महत्त्वपूर्ण हुनेछ ।

आजको दोस्रो खेलमा लयमा रहेको काठमाडौं गोर्खाजले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेलमा पराजित भएको काठमाडौंले त्यसपछिका लगातार तीन खेल जित्दै उत्कृष्ट पुनरागमन गरेको छ । चार खेलबाट ६ अंक जोडेको काठमाडौं तालिकाको दोस्रो स्थानमा छ ।

चितवन राइनोजले चार खेलबाट पाँच अंक जोडेको छ । तालिकाको चौथो स्थानमा रहेको चितवन पनि जित निकाल्दै प्लेअफको सम्भावना थप बलियो बनाउन चाहन्छ ।