काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ । उक्त माग आन्तरिक उत्पादनबाटै धान्न सकिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार अहिले नेपालमा विद्युत्को कुल उत्पादन करिब २ हजार ५०० मेगावाट हाराहारीमा छ ।
यसअनुसार अनुमानित मागभन्दा करिब ८०० मेगावाट बढी विद्युत् उत्पादन भइरहेकाले लक्ष्मीपूजाका दिन आवश्यक विद्युत् आन्तरिक उत्पादनबाटै उपलब्ध गराउन सकिने अवस्था छ ।
आन्तरिक उत्पादनले नै माग धान्ने अवस्था रहेकाले यस वर्ष तिहारभर विद्युत् आपूर्तिमा समस्या नहुने प्राधिकरणका अधिकारीहरूले बताएका छन् । लक्ष्मीपूजा तथा तिहारका अन्य दिनमा समेत विद्युत् आपूर्तिलाई सहज र भरपर्दो बनाइएको प्राधिकरणले जनाएको छ ।
तिहार र त्यसपछि आउने छठ पर्वलाई लक्षित गर्दै प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई व्यवस्थित र चुस्त राख्न विशेष तयारी गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको उच्च व्यवस्थापन तथा प्रादेशिक प्रमुखहरूको बैठकले पर्वका समयमा विद्युत् आपूर्ति नियमित राख्न आवश्यक निर्देशन दिइसकेको छ ।
विद्युत् प्रणालीमा कुनै प्राविधिक समस्या देखिए तत्काल समाधान गरी सेवा पुनः सञ्चालन गर्न प्राविधिक टोलीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ । उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न ‘नो लाइट’ सेवालाई प्रभावकारी बनाउने र सेवामा आउने फोन नियमित उठाउने व्यवस्था पनि मिलाइएको छ ।
प्राधिकरणले तिहारका बेला विद्युत् प्रयोग गर्दा सावधानी अपनाउन उपभोक्तालाई आग्रह गरेको छ । घरमा प्रयोग भइरहेका विद्युतीय उपकरण, तार तथा अन्य सामग्रीको अवस्था जाँच गर्न र गुणस्तरहीन विद्युतीय सामग्री प्रयोग नगर्न प्राधिकरणले सुझाव दिएको छ ।

.gif)


