चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन पुगेका छन् । 

बिहीबार दिउँसो उनी बुद्ध एयरको विमानमार्फत भरतपुर विमानस्थल हुँदै चितवन गएका हुन् ।

लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार, उनले चितवनको लंकु लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गर्नेछन् । त्यसपछि भरतपुरको विशालचोकस्थित निवासमा गृहप्रवेशको कार्यक्रम तय छ ।

यही माघ ५ गते जनकपुरको कार्यक्रममा सहभागी भएका उनको खुट्टामा चोट लागेपछि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । ‘डिस्चार्ज’पछि उनी घरमा आराम गरिरहेका थिए ।

लामिछानेले मंगलबार एक स्टाटस लेख्दै सिंहदरबारमा निलो क्रान्तिको तयारी भइरहेको बताएका थिए। उनले आगामी निर्वाचनमा रास्वपालाई स्पष्ट म्यान्डेट दिन मतदाताहरूसँग आग्रह पनि गरेका थिए। उनले बुधबारदेखि सार्वजनिक जीवनमा फर्किने पनि बताएका थिए।

खुट्टाको घाउका कारण उनलाई अझै सहज रूपमा हिँडडुल गर्न कठिन भइरहेको छ। यद्यपि  फागुनमा भने सुदूरपश्चिमको दौडाहा सकेर फेरि पूर्व हान्निएका पार्टीका वरिष्ठ नेता बालेन्द्र साहसंग लामिछाने पनि चुनावी अभियानका लागि देश दौहाडामा जाने बताइएको छ।

चितवन-२ मा लामिछाने २०७९ को आम चुनाव र २०८० वैशाखको उपनिर्वाचनमा उम्मेदवार भएर दुवै चुनावमा फराकिलो मतान्तरसहित विजयी भएका थिए । यो पटक चितवन-२ मा लामिछानेसहित २३ उम्मेदवार चुनावी मैदानमा छन् ।