नेपालमा निर्धक्कसँग लगानी गर्न जापानीलाई राष्ट्रपतिको आग्रह
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तर्क्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा निर्धक्कसँग लगानी गर्न र व्यापार गर्न आह्वान गरेका हुन्।
उनले कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गरेर नेपाललाई पनि धनी बनाउन र जापानले पनि फाइदा लिन आग्रह गरे । उनले भने,‘नेपालमा लगानी गरे धन पनि हुन्छ ! धर्म पनि हुन्छ।’ राष्ट्रपति पौडेलले भने, ‘हामीले लगानीमा आकर्षक प्रतिफलका साथै नाफा र पूँजी फिर्तिका लागि सहज प्रक्रियाहरू सहितको स्थिर समष्टिगत आर्थिक वातावरण तयार गरेका छौं, नेपाल सरकार वैदेशिक लगानीमा पूर्ण सहयोग, निर्बाध सहजीकरण र सुरक्षा प्रदान गर्न प्रतिबद्ध छ’,। राष्ट्रपति पौडेलले गौतमबुद्धको दर्शनले हामी आल्हादित भएको र नेपाल र जापानको सम्बन्ध सांस्कृतिक रूपले आदिकालदेखि रहेको उल्लेख गरे। उनले भने,'गौतमवुद्धले भनेका थिए - शान्तिको विजय त्यो हो जसमा कसैको हार हुँदैन ।’

.gif)




फेसबुक पेज Like गर्नुहोस