काठमाडाैं-कुथेली बुखरी स्मल हाइड्रोपावरले जेठ १९ गते देखि आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँको १ करोड २१ लाख ८६ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको हो । 

कम्पनीले १ सय अंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि बिक्री खुला गरेको हो । उक्त आइपीओमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरु) तथा भिमेश्वर नगरपालिका वडा नं. १ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरु) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १०% ले हुने १२ लाख १८ हजार ६ सय रुपैयाँ बराबरको सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको छ । जसअनुसार प्रतिसेयर १ सय अंकित दरले १२ हजार १८६ कित्ता साधारण सेयरमा विदेशमा रोजगार गरिरहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । दुवै समूहका लगानीकर्ताले आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । 

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले यसमा असार १ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा असार १७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने आसर १ गतेभित्र आवेदन दिनुपर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्रा एनपी त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।  स्थानीय बासिन्दाले लक्ष्मी बैंक, सिटिजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।