काठमाडौं - सशस्त्र प्रहरी बल, नेपालका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले आफूलाई सेवाबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध पुनरावेदन दिएका छन्।

स्रोतका अनुसार दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन पेस गरेका हुन् । उनको पुनरावेदनमाथि निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्सँग रहेको छ ।

सरकारले बर्खास्तीको निर्णय यथावत् राखेमा मात्रै दाहालका लागि अदालत जाने बाटो खुल्नेछ । कानुनी प्रक्रियाअनुसार मन्त्रिपरिषद्बाटै पुनरावेदनको टुंगो लाग्नुपर्ने भएकाले उनी अहिले सोझै अदालत नगई सरकारसमक्ष पुगेका हुन् ।

प्रधानमन्त्रीसँग सम्बन्धित संवेदनशील सूचना बिचौलियाको आरोप लागेका इनम सापकोटालाई दिएको आरोपमाथि लागेको थियो ।

त्यसपछि सरकारले संवेदनशील तथा गम्भीर सूचना चुहाएको आरोपमा गत २३ असोजमा दाहाललाई सेवाबाट बर्खास्त गरेको थियो ।

स्रोतका अनुसार सापकोटा पक्राउ परेपछि उनको मोबाइलबाट दाहालसँग सम्पर्क भएको पाइएको थियो । यही सम्बन्ध र संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले गत १९ असोजमा दाहाललाई निलम्बन गरेको थियो ।

निलम्बनपछि एआईजी अञ्जनीकुमार पोखरेललाई छानबिनको जिम्मेवारी दिइएको थियो। पोखरेल नेतृत्वको छानबिनपछि सरकारले २३ असोजमा दाहाललाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।