काठमाडौं - नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गतेको आमनिर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी धक्का मात्रै भएको बताएकी छन् । 

पार्टीको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने भन्दै निराशा त्यागेर नयाँ ऊर्जा र आत्मविश्वासका साथ अघि बढ्न नेता–कार्यकर्तालाई आह्वान गरेकी छन् ।

भण्डारीले निर्वाचनको परिणामबाट निराश भएर निष्क्रिय बस्नुभन्दा हारका कारण पहिचान गरी कमजोरी सच्याउनुपर्नेमा जोड दिइन् ।

‘एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन । निराश भएर निष्क्रिय बस्ने होइन, हारबाट सही पाठ सिक्दै र कमजोरी सच्याउँदै आगामी स्थानीय तहलगायतका निर्वाचनमा केन्द्रित हुनुपर्छ,’ उनले भनिन् ।

विगतका अनुभव र पार्टीको ऐतिहासिक विरासतबाट शिक्षा लिँदै नयाँ उत्साह र आत्मविश्वासका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।