काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले आगामी निर्वाचनलाई सामान्य चुनावका रूपमा लिन नहुने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै थापाले घटनाक्रममा अप्रत्याशित परिवर्तन नभए २०८४ साल निर्वाचन र राजनीतिक संघर्षको वर्ष हुने बताएका हुन् ।
उनका अनुसार आगामी निर्वाचनमा पपुलिस्ट शक्तिहरूले आफ्नो राजनीतिक प्रभाव विस्तार गर्न खोज्नेछन् भने लोकतान्त्रिक तथा देशभक्त शक्तिहरूले त्यसको प्रतिवाद गर्नुपर्नेछ ।
थापाले आगामी निर्वाचन एमालेका लागि राजनीतिक प्रभाव र प्रतिनिधित्व जोगाउने महत्त्वपूर्ण चुनौतीसमेत भएको बताए । स्थानीय तह, प्रदेशसभा, राष्ट्रियसभा र राष्ट्रपति पदमा कायम रहेको राजनीतिक प्रभावलाई निरन्तरता दिन पार्टीले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने उनको भनाइ थियो ।
उनले पपुलिस्ट शक्तिहरूमाथि लोकतान्त्रिक तथा प्रगतिशील दलहरूलाई विभाजित गर्ने, जनतामा भ्रम फैलाउने र सुशासन तथा सम्पत्ति छानबिनका नाममा राजनीतिक दबाब बढाउने प्रयास गरिरहेको आरोप लगाए ।

.gif)


