काठमाडौं - प्रहरी प्रधान कार्यालयले तल्लो तहका प्रहरी कर्मचारीका पिरमर्का र गुनासो सुन्न तथा तिनको समयमै सम्बोधन गर्न आठ सदस्यीय टोली गठन गरेको छ ।
कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका कर्मचारीका समस्या पहिचान गरी समाधानको पहल गर्ने उद्देश्यले टोली गठन गरिएको हो ।
अपराध अनुसन्धान विभागका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीको नेतृत्वमा गठित टोलीलाई प्रहरी महानिरीक्षक डा। मनोजकुमार केसीले हस्ताक्षर गरेको पत्रमार्फत जिम्मेवारी तोकिएको छ ।
टोलीले आधारभूत तहका प्रहरी कर्मचारीका गुनासा सुन्ने, उनीहरूका पिरमर्का अभिलेखीकरण गर्ने र प्राप्त समस्याको समाधानका लागि सम्बन्धित कार्यालयसँग आवश्यक समन्वय गर्नेछ । कर्मचारीका गुनासा लामो समयसम्म अलपत्र नपरून् भन्ने उद्देश्यले तिनको समयमै सम्बोधन तथा व्यवस्थापन गर्ने जिम्मेवारीसमेत टोलीलाई दिइएको छ ।
गठित टोलीमा कार्य विभागका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझा, कर्मचारी प्रशासन शाखाका प्रहरी निरीक्षक प्रकाश थापा, सुरक्षा सेवा व्यवस्था महाशाखाकी प्रहरी निरीक्षक सञ्चिता श्रेष्ठ र कल्याण महाशाखाकी प्रहरी वरिष्ठ नायब निरीक्षक शान्ता लक्ष्मी बलामी सदस्य छन् ।
त्यस्तै, अपराध अनुसन्धान विभागका प्रहरी नायब निरीक्षक धर्मी यादव, सञ्चार निर्देशनालयका प्रहरी सहायक निरीक्षक हरिबहादुर देउजा र विशेष कार्यदलका प्रहरी जवान विष्णु घिमिरे पनि टोलीमा समेटिएका छन् ।
टोलीलाई तल्लो तहका प्रहरी कर्मचारीका समस्या प्रत्यक्ष रूपमा सुन्ने, लिपिबद्ध गर्ने र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने कार्यादेश दिइएको छ ।

.gif)



