काठमाडौं - राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएका सबै प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा गरेको छ ।
राखेपको कार्यकारी समितिले (मंसिर ३) मा गरेको निर्णयअनुसार एन्फामाथि विभिन्न समयमा लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध हटाइएको हो ।
राखेपका सदस्यसचिव रामचरित्र मेहताको हस्ताक्षर रहेको प्रतिबन्ध फुकुवासम्बन्धी पत्र बिहीबार एन्फालाई पठाइएको छ । पत्रमा निर्णय भएकै मितिदेखि प्रशासनिक तथा आर्थिक प्रतिबन्ध लागू नहुने उल्लेख गरिएको छ ।
एन्फाले यसअघि गत चैत २३ मा राखेपलाई पत्र पठाउँदै आफूमाथि लगाइएको निलम्बन तथा प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेको थियो । एन्फाको सोही अनुरोध र राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ लाई आधार बनाउँदै राखेपले प्रतिबन्ध हटाउने निर्णय गरेको जनाएको छ ।
राखेपको यो निर्णयसँगै लामो समयदेखि प्रतिबन्धको सामना गरिरहेको एन्फाले प्रशासनिक र आर्थिक गतिविधि सञ्चालन गर्ने बाटो खुलेको छ ।

.gif)


