काठमाडौं - गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनको सुरक्षा तयारीबारे सुरक्षा निकायहरूबाट ब्रिफिङ लिँदै चुनावी सुरक्षामा कुनै कमजोरी हुन नदिन ‘हाई अलर्ट’मा रहन निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा शुक्रबार गृहमन्त्रीकै अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले चुनावका क्रममा आउन सक्ने जोखिमको समयमै आँकलन गरी सुरक्षा व्यवस्था चुस्त बनाउँदै निष्पक्ष निर्वाचन सम्पन्न गराउन सुरक्षा निकायका प्रमुखहरूलाई कडा निर्देशन दिएका हुन् ।

बैठकले विगतका बैठकहरूबाट भएका निर्णयहरूको कार्यान्वयन अवस्था समीक्षा गर्दै निर्वाचन नजिकिँदै गर्दा सम्भावित थप चुनौतीहरूलाई सम्बोधन गर्ने रणनीति तय गरेको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार गृह र रक्षा मन्त्रालयका सचिव तथा चारवटै सुरक्षा निकायका प्रमुखरप्रतिनिधि सहभागी रहेको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार भइरहेका कार्यहरू, जनशक्ति परिचालन र बन्दोबस्ती व्यवस्थापनको समीक्षा गरेको हो ।

बैठकले निर्वाचनलाई लक्षित गर्दै सामाजिक सञ्जाल दुरुपयोग रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

यससँगै निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने, निर्वाचनमा ड्रोनको प्रयोग प्रतिबन्ध लगाउने, निर्वाचनमा खटिएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीको बीमा गर्ने निर्णय पनि गरिएको छ ।