काठमाडौं - भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको मङ्गलबार राति निधन भएको छ । 

 ६७ वर्षकी स्वराजलाई स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि मंगलबार अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको थियो । स्वराजलाई संघीय स्वास्थ्य मन्त्री हर्ष बर्धनसहितका आफन्तजनले अस्पतालमा पुर्‍याइएको थियो । उनले मंगलबार साँझ नौ बजेसम्म टेलिभिजन हेरिरहेको बताइएको छ ।

स्वराजको निधनको खबरपछि संघीय मन्त्रीहरू प्रल्हाद पटेल, राजनाथ सिंह, पियुष गोयल र नीतिश गोडकरीसहितका भाजपा नेताहरू तत्काल अस्पताल पुगेका थिए ।

भारतीय जनता पार्टीका वरिष्ठ नेता स्वराजले मंगलबार दिउँसो संविधानको धारा ३७० खारेज गर्ने साहसिक कदमको स्वागत गर्दै यो कदमका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएकी थिइन् ।  

स्वराजले सन् २०१४ मा गठन भएको मोदी सरकारको पहिलो कार्यकालमा विदेश मन्त्री नियुक्त भएकी थिइन् । उनले स्वास्थ्यको कारण देखाउँदै सन् २०१९ को निर्वाचनमा भने लोक सभाका लागि प्रतितिस्पर्धाबाट बाहिर बस्ने इच्छा व्यक्त गरे अनुसार उनलाई भाजपाले उम्मेदवार बनाएको थिएन ।