काठमाडौं - काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित भएसँगै लुम्बिनी लायन्सको नेपाल प्रिमियर लिग (एनपीएल) मा अपराजित यात्रामा पूर्णविराम लागेको छ । एनपीएलमा लुम्बिनी १२औँ खेलमा आएर पराजित भएको हो ।
अघिल्लो सिजनका सात खेलमा अपराजित रहेको लुम्बिनीले यस सिजन पनि निरन्तरता दिँदै आएको अपराजित यात्रालाई कायम राख्न सकेन । काठमाडौंसँगको हारले लुम्बिनीको दुई खेल अगावै प्लेअफमा पुग्ने लक्ष्यसमेत धकेलिएको छ ।
काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमै अलआउट भयो । सुरुवातमै धराशायी बनेको लुम्बिनीले ४.३ ओभरमा ६ विकेट गुमाइसकेको थियो ।
पावर प्लेमै ३४ रन जोड्दा ६ विकेट गुमाएको लुम्बिनी त्यसपछि खेलमा फर्कन सकेन । काठमाडौंका बलरसामु लुम्बिनीका ब्याटरले लामो समय क्रिजमा टिकेर खेल्न सकेनन् ।
लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४४ रन बनाए । अविशेष गौतमले १६, निरोशन डिकवेल्लाले १४ र रुवेन ट्रम्पलम्यानले ११ रन जोडे ।
काठमाडौंका लागि जहानदाद खानले सर्वाधिक चार विकेट लिए । करण केसीले दुई विकेट लिँदा साहब आलम, सन्तोष यादव, सेहान र राशिद खानले समान एक विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेको लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६० रन बनाएको थियो । काठमाडौंका लागि डेविड वार्नरले सर्वाधिक ६६ र शाहिल पटेलले ३८ रन बनाएका थिए ।

.gif)


