काठमाडौं- चितवनमा प्रहरी र मेडिकल व्यवसायी दुर्गा प्रसाईँका समर्थकबीच घम्साघम्सी भएको छ । सोमबार प्रसाईँ कार्यक्रमका लागि चितवनको भरतपुर पुगेका थिए । प्रसाईँको समूहले भरतपुरको साझा बसपार्कबाट चौबिसकोठीसम्म पुग्ने भन्दै प्रशासनसँग अनुमति लिएको थियो । शान्तिपूर्ण रुपमा र्‍याली गर्ने भनिए पनि सडकमै सभा गर्न लागेको भन्दै प्रहरीले उनीहरुलाई हटाउन खोजेपछि प्रसाईंका समर्थकसंग घम्साघम्सी भएको हो । सो क्रममा तीन जना व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

त्यहाँ सयौँको संख्यामा प्रसाईँका समर्थकहरु निस्किएका थिए । उनीहरुले शान्तिपूर्ण र्‍यालीका लागि अनुमति लिए पनि सर्वसाधारणलाई असर गर्नेगरी बाटो नै छेक्न थालेपछि प्रहरीले हटाउन खोज्दा धकेलाधकेलको अवस्था सिर्जना समेत भएको थियो ।