विद्या भट्टराईले सपथ लिइन्
काठमाडौं - उपनिर्वाचनअन्तर्गत कास्की-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विद्या भट्टराईले आज (मंगलबार) पद तथा गोपनीयताको सपथ लिएकी छन् ।
सांसद भट्टराईलाई उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् । तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई सपथ ग्रहण गराएकी हुन् ।
सभामुख नभएका कारण उपसभामुखबाट पहिलोपटक सांसदले सपथ ग्रहण गरेको संसद सचिवालयले जनाएको छ । सपथ ग्रहण समारोहमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरुङलगायतको उपस्थिति थियो ।
उपनिर्वाचनअन्तर्गत कास्की-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा भट्टराई निर्वाचित भएकी थिइन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले ८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् ।
भट्टराईले २४ हजार ३ सय ९४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाएका थिए ।
फेसबुक पेज Like गर्नुहोस