काठमाडौं - सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजाआराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ।
उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ।
यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ। बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो।
सूर्योदयकालमा अर्घ्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ। सूर्यको दर्शन गर्दा भक्तहरू लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ।
यसअघि हिजो षष्ठीका दिन निराहार व्रत बसेका व्रतालुहरूले साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। त्यसपछि रातभर जलाशय किनारमा जाग्राम बसेका उनीहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गरेका हुन्।
सरकारले छठ पर्वको अन्तिम दिन आज पनि सार्वजनिक बिदा दिएको छ। यसअघि षष्ठीका दिन मात्रै सार्वजनिक बिदा दिँदै आएको सरकारले यस वर्ष पहिलो पटक सप्तमी अर्थात् उदाउँदो सूर्यलाई अर्घ्य दिने दिन पनि बिदा दिएको हो।

.gif)


