काठमाडौं  - बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाउने क्रमलाई मंसिरमा पनि निरन्तरता दिएका छन्।

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर घटेर ३.९०६ प्रतिशतमा झरेको छ।

२० वटा वाणिज्य बैंकको ब्याजदर विश्लेषण गर्दा कात्तिकको तुलनामा मंसिरमा औसत ब्याजदर ०.१०७ प्रतिशत बिन्दुले घटेको देखिएको छ। कात्तिकमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ४.०१३ प्रतिशत थियो।

पछिल्ला केही महिनादेखि नै बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर घटिरहेको छ। साउनमा ४.१६७५ प्रतिशत रहेको औसत ब्याजदर भदौमा ४.१३६० र असोजमा ४.०८९६ प्रतिशतमा झरेको थियो।

मंसिरमा सबै बैंकले ब्याजदर घटाएका भने छैनन्। कात्तिकको तुलनामा ६ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १४ वटा बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन्।

मंसिरमा सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.५ प्रतिशत ब्याजदर कायम राखेको छ। बैंकले पाँच वर्ष वा सोभन्दा बढी अवधिको निक्षेपमा उक्त ब्याजदर दिने व्यवस्था गरेको छ।

बैंकहरूले सामान्यतया छोटो अवधिको मुद्दती निक्षेपमा कम र लामो अवधिको निक्षेपमा केही बढी ब्याजदर दिने गरेका छन्। त्यसैले बैंकहरूले सार्वजनिक गर्ने अधिकतम ब्याजदर लामो अवधिको निक्षेपमा लागू हुने गरेको छ।

यसअघि नै लामो अवधिका लागि मुद्दती खाता खोलेका ग्राहकले भने खाता खोल्दाका सर्तअनुसार नै ब्याज पाउनेछन्। मंसिरमा नयाँ खाता खोल्ने वा अवधि पूरा भएपछि नवीकरण गर्ने ग्राहकका लागि मात्रै नयाँ ब्याजदर लागू हुनेछ।

बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा प्रवाहको वृद्धि सुस्त रहेकाले ब्याजदर घटिरहेको बताइएको छ। निक्षेपको ब्याजदर घट्दा बैंकहरूको आधार दरमा पनि कमी आउने र त्यसले कर्जाको ब्याजदर घटाउन दबाब सिर्जना गर्ने देखिन्छ।

कुन बैंकको ब्याजदर कति ?

कृषि विकास बैंकले कात्तिकमा ४.१५ प्रतिशत ब्याज दिँदै आएकोमा मंसिरमा घटाएर ३.६५ प्रतिशत कायम गरेको छ। सिटिजन्स बैंकले भने दुवै महिनामा ३.८५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ।

एभरेस्ट बैंकले ३.७५ प्रतिशत र ग्लोबल आईएमई बैंकले ४ प्रतिशत ब्याजदर कायम राखेका छन्। हिमालयन बैंकले पनि कात्तिककै ४ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ।

इन्भेस्टमेन्ट मेगा बैंकले ३.७० प्रतिशत ब्याजदर कायम राख्दा कुमारी बैंकले ३.७० प्रतिशतबाट घटाएर ३.६१ प्रतिशतमा झारेको छ। लक्ष्मी सनराइज बैंकले पनि ४ प्रतिशतबाट घटाएर ३.७५ प्रतिशत ब्याजदर कायम गरेको छ।

माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै १ प्रतिशत बिन्दुले ब्याजदर घटाउँदै कात्तिकको ४.५० प्रतिशतबाट मंसिरमा ३.५० प्रतिशतमा झारेको छ। नबिल बैंकले भने ३.७५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ।

नेपाल बैंकले ४.१५ प्रतिशत र नेपाल एसबीआई बैंकले ४ प्रतिशत ब्याजदर कायम राखेका छन्। एनआईसी एसिया बैंकले पनि ४ प्रतिशत ब्याजदरलाई यथावत् राखेको छ।

एनएमबी बैंकले ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत ब्याजदर कायम गरेको छ। प्राइम कमर्सियल बैंकले ४ प्रतिशत र प्रभु बैंकले ४.२५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्।

राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशत ब्याजदर कायम राख्दा सानिमा बैंकले ४.५० प्रतिशत ब्याजदर दिइरहेको छ। सिद्धार्थ बैंकले ३.७६ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.७० प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत कायम गरेको छ।