काठमाडौं - नेपाली कांग्रेसभित्र संस्थापन पक्ष र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीचको विवाद चर्किँदै जाँदा देउवा समूहले समानान्तर महाधिवेशनको तयारी तीव्र पारेको छ ।
सभापति गगन थापा नेतृत्वको महाधिवेशनलाई अवैधानिक ठहर गर्दै आएको देउवा पक्षले मंसिर ५ गतेदेखि सातवटै प्रदेशमा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।
देउवा पक्षले आगामी मंसिर २१ देखि २४ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ। त्यसअघि वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गर्दै प्रदेश अधिवेशन गर्न लागेको हो।
देउवा पक्षीय नेता तथा १५औँ महाधिवेशन तयारी सचिवालय समितिका संयोजक दीपकप्रसाद कुइँकेलका अनुसार मंसिर ५ गते गण्डकी प्रदेशको अधिवेशनबाट प्रदेशस्तरीय कार्यक्रम सुरु हुनेछ।
निर्धारित कार्यतालिकाअनुसार मंसिर ७ गते लुम्बिनी, १० र ११ गते बागमती, १४ गते मधेस तथा १५ गते सुदूरपश्चिम र कर्णाली प्रदेशको अधिवेशन हुनेछ। कोशी प्रदेशको अधिवेशनको मिति भने सार्वजनिक गरिएको छैन ।
हालसम्म १४६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, २८० प्रदेशसभा निर्वाचन क्षेत्र र ७५३ स्थानीय तहमध्ये ७३० तहमा अधिवेशन सम्पन्न भइसकेको छ। त्यस्तै, ४६ जिल्लाको जिल्ला अधिवेशन पनि सकिएको छ। अधिकांश वडाको अधिवेशन सम्पन्न भइसकेको उनको भनाइ छ।
बाँकी अधिवेशन मंसिर १८ गतेभित्र सम्पन्न गरी महाधिवेशन प्रतिनिधिलाई काठमाडौं आइपुग्ने समय दिने देउवा पक्षको तयारी छ।

.gif)


