एजेन्सी - अमेरिकामा हवाई यातायात नियन्त्रण प्रणालीमा आएको प्राविधिक समस्याका कारण दुई दिन बितिसक्दा पनि हवाई सेवा पूर्ण रूपमा सामान्य हुन सकेको छैन ।

आइतबार मात्रै देशभर ५ हजारभन्दा बढी उडान ढिलाइ भएका छन् भने २ हजारभन्दा बढी उडान रद्द भएका छन्।

बीबीसीका अनुसार अमेरिकी यातायातमन्त्री सीन डफीले उडान सेवा पूर्ण रूपमा नियमित हुन सोमबारसम्म लाग्न सक्ने बताएका छन्। विमान र चालक दल निर्धारित स्थानमा नरहेकाले उडान तालिका पूर्ववत् बनाउन समय लाग्ने उनको भनाइ छ।

शुक्रबार अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले प्राविधिक समस्याका कारण देशभरका विमानस्थलबाट हुने उडानमा अस्थायी रोक लगाएपछि हवाई यातायात अस्तव्यस्त बनेको थियो। त्यसबाट आकाशमा रहेका ३ हजार ५०० भन्दा बढी विमान प्रभावित भएका थिए। केही विमानलाई वैकल्पिक विमानस्थलमा अवतरण गराइएको थियो भने केही गन्तव्यतर्फ अघि बढेका थिए।

उडान रोकिएपछि हजारौँ यात्रु विमानभित्रै र विमानस्थलमा अलपत्र परेका थिए। फ्लाइटअवेयरका अनुसार शुक्रबार मात्रै ८ हजार ५०० उडान ढिलाइ भएका थिए भने ८ हजार उडान रद्द भएका थिए। शनिबार पनि ५ हजार ९०० भन्दा बढी उडान रद्द भएका थिए भने ७ हजारभन्दा बढी उडान ढिलाइ भएका थिए।

प्रारम्भिक अनुसन्धानमा हवाई ट्राफिक नियन्त्रक र पाइलटबीच सञ्चारका लागि प्रयोग हुने प्रणालीमा समस्या आएको पाइएको छ। यातायातमन्त्री डफीका अनुसार आर्कान्सासको एल डोराडोमा जडान गरिएको नेटवर्क राउटरले गलत संकेत पठाउँदा सञ्चार प्रणाली प्रभावित भएको थियो।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको पुरानो हवाई ट्राफिक नियन्त्रण प्रणाली आधुनिकीकरण गर्न आवश्यक बजेट उपलब्ध गराउन संसद्लाई आग्रह गरेका छन्। करिब ५० वर्ष पुरानो प्रविधिमा आधारित हवाई नियन्त्रण प्रणालीलाई एकैपटक आधुनिक बनाउनुपर्ने उनको भनाइ छ।

अमेरिकी अधिकारीहरूले प्राविधिक समस्याको वास्तविक कारण र त्यसको जिम्मेवारीबारे अनुसन्धान गरिरहेका छन्।