प्रधानमन्त्री र गृहमन्त्रीबाट गोली हान्ने आदेश थिएन : निवर्तमान गृहमन्त्री लेखक
काठमाडौं - निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले यस्तो बताएका हुन् ।
जेनजी आन्दोलनको एक महिनापछि मिडियामा सार्वजनिक भएका लेखकले भने–‘प्रधानमन्त्रीजीले वा गृहमन्त्रीले आदेश गरेको भनेर विभिन्न चर्चाहरू उठेका छन् । यो प्रधानमन्त्रीले गृहमन्त्रीले कुनै पनि रुपमा आदेश गर्ने विषय होइन । त्यस्ता खालका कुनै आदेश पनि गरिएको छैन ।’
लेखकले सोही बेलामा पनि घुसपैठ भएको विषय सत्य देखिएको समेत बताए । उनले भने–‘घुसपैठ भएको विषय मैले नै भनिरहेको विषय होइन । स्वयं प्रदर्शनका आयोजकहरूले नै भनिरहेको विषय थियो । त्यो पछि यथार्थमा सत्य देखियो । जसका कारणले यत्रो ठूलो पीडादायी घटना भए ।’ उनले अहिलेको समयमा उत्तेजना, आग्रह, पूवाग्रह र प्रतिशोधभन्दा माथि उठेर काम गर्नुपर्ने पनि बताए ।
जेनजी आन्दोलनको पहिलो दिन नै पदबाट राजीनामा दिएका गृहमन्त्री लेखकले जेनजी पुस्ताले उठाएको विषयलाई बुझेर अघि बढ्नुपर्ने बताए ।
उनले भने–‘जेनजी पुस्ताले जे माग उठाउनुभएको छ । ती मागलाई पनि बुझेर लोकतन्त्रको मूल्य मान्यतालाई राखेर अघि बढाउनुपर्ने जरुरी छ । अहिले उत्तेजित हुने, आग्रहरपूर्वाग्रह, प्रतिशोध आदिबाट माथि उठेर मुलुकमा विधिको शासन स्थापित गरेर सबै राजनीतिक दल जिम्मेवार हुनु जरुरी छ ।’

.gif)



फेसबुक पेज Like गर्नुहोस