वनमन्त्री आलेले चिनियाँ सिलिन्डरमा टाँसे आफ्नो तस्बिर, चौतर्फी आलोचना
काठमाडौं - रुखबाट कार्बनडाइअक्साइड फाल्ने र मानिसले अक्सिजन फाल्ने अभिव्यक्तिबाट चर्चामा आएका वनमन्त्री प्रेमबहादुर आलेमगर अहिले पुन: अक्सिजनकै कारण विवादमा तानिएका छन् ।
अहिले सामाजिक सञ्जालमा नीला रंगका अक्सिजन सिलिण्डरमा वनमन्त्री आलेको फोटो टाँसेको स्टिकर अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ । चीन सरकारले नेपाललाई दिएको अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा आफ्नो फोटोसहितको स्टिकर टाँसेपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।
सोमबार हेलिकप्टरमार्फत् गृह जिल्ला डोटी पुगेका मन्त्री आलेले ७५ थान अक्सिजन सिलिन्डर, १ लाख ५० हजार मास्क, अक्सिजन कन्सन्ट्रेटर, अस्पताल बेड, एन्टिजेन कीटलगायतका अन्य स्वास्थ्य सामग्री र कोरोनाको उपचारमा प्रयोग हुने औषधी लगायतका स्वास्थ्य सामग्री जिल्ला अस्पताल, स्थानीय तहलाई हस्तान्तरण गरेका थिए ।
सो सिलिन्डर र स्वास्थ्य उपकरणका प्याकेटमा एउटा रंगीन स्टिकर टाँसिएको छ। जसमा लेखिएको छ- 'नेपाल सरकारको माननीइ वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेज्युको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामाग्री।' स्टिकरमा मन्त्री आलेको फोटोसमेत समावेश छ।
उक्त फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो । धेरैजसोले चिनियाँ अनुदानका अक्सिजन सिलिण्डरमा व्यक्तिगत सहयोग भनेर प्रचार गरेको भन्दै चर्को आलोचना गरिरहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस