जनकपुरधाम - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगर सभापति साविर हुसेन पक्राउ परेका छन्।

लागुऔषध गाँजा बरामद भएको सवारी दुर्घटनासम्बन्धी मुद्दामा फरार रहेका हुसेनलाई प्रहरीले रास्वपाकै पार्टी कार्यालयबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार इलाका प्रहरी कार्यालय लहानको टोलीले हुसेनलाई सुरूङ्गा नगरपालिका–४ स्थित कदमाहा बजारमा रहेको रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार २०८१ मंसिर २९ गते धनगढीमाई नगरपालिका–१० जिरोमाइलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र कार एकआपसमा ठोक्किएका थिए।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.३ ख ७५९१ नम्बरको ट्रकले उत्तरबाट राजमार्ग पार गर्दै गरेको बा.८ च ९९६३ नम्बरको कारलाई ठक्कर दिएको थियो।

दुर्घटनापछि प्रहरीले कारमा खानतलासी गर्दा पाँचवटा पोकामा राखिएको एक क्विन्टल ३० किलो गाँजा बरामद गरेको थियो।

घटनापछि प्रहरीले ट्रकका चालकसहित ट्रक र कार नियन्त्रणमा लिए पनि कारका चालक फरार भएका थिए।

उक्त घटनासम्बन्धी लागुऔषध मुद्दामा हुसेनविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा मुद्दा दर्ता भएको थियो।

सोही मुद्दामा फरार रहेका उनलाई अहिले पक्राउ गरिएको प्रहरी प्रवक्ता पालले जानकारी दिए।