काठमाडौं,एजेन्सी -अफगानिस्तानबाट अमेरिकी सैनिकको फिर्तीसँगै अमेरिकी दूतावासले कतारबाट काम गर्ने भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले काबुलमा रहेको दूतावास बन्द गरी कतारको राजधानी दोहामा सरेको बताएका छन् ।

अमेरिकी नागरिकलाई सम्बोधन गर्दै उनले भने, ‘अमेरिकाको अन्तिम सैनिक विमानले उडान भरिसकेको छ । हाम्रा सैनिकले अफगानिस्तान छाडिसकेका छन् । अफगानिस्तानसँग अमेरिकी सम्बन्धको नयाँ अध्याय सुरु भएको छ । जसमा हामी आफ्नो कुटनीतिले अगाडि बढ्नेछौँ । सैनिक अभियान पूरा भयो । नयाँ मिसन सुरु भएको छ ।’

अफगानिस्तानमा बाँकी रहेका अमेरिकी सैनिकले काबुल छाडेपछि सम्पूर्ण अफगानिस्तान तालिबानको हातमा पुगेको छ । बाँकी सैनिकले काबुल छाडेसँगै रक्षा मन्त्रालयले २० वर्षे मिसन सकिएकाे घाेषणा गरेकाे छ।

तालिबानविरुद्धकाे सैन्य अभियानमा करिब २ हजार ५०० अमेरिकी सैनिकले ज्यान गुमाए भने २० हजारभन्दा धेरै सैनिक घाइते भए ।

अमेरिकाले ११ सेप्टेम्बर २००१ मा सैन्य अभियान सुरु गरेको थियो ।