काठमाडौं - नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकेकोभन्दा बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरिने जानकारी दिए ।
सरकारले यस वर्षको दसैँका लागि यही असोज २३ गतेदेखि देशभरका यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ ।
यात्रु तथा मालवाहक यातायात सञ्चालनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, मजदुर संघ–संगठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
महासंघले सात प्रदेश, जिल्ला समिति तथा सदस्य संघ–संस्था र काठमाडौंको गोंगबु बसपार्कमा कार्यरत शाखा प्रमुख तथा कर्मचारीलाई आवश्यक निर्देशन दिएको छ ।
महासंघका अनुसार अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचयपत्र अनिवार्य लगाउनुपर्नेछ । यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराई सुरक्षित यात्राको सुनिश्चितता गर्नुपर्नेछ ।
दसैँको भीडलाई व्यवस्थापन गर्दै यही असोज २५ गते घटस्थापनादेखि आगामी कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ ।

.gif)



