काठमाडौं - पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमै सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ।

जबरासहित उनी निकट मानिएका केही व्यक्ति तथा आफन्तका घरमा पनि विभागको टोलीले एकसाथ छापा मारेको हो।

विभाग निकट स्रोतका अनुसार जबराको घरसँगै नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा समेत विभागको टोली पुगेको छ। जबराका केही नातेदारको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोलीले छापा मारेको स्रोतले जनाएको छ।

जबराका भाइ प्रभुशमशेर जबरालगायतका घरमा समेत छापा मारिएको बताइएको छ। अनुसन्धानका क्रममा जबरा र उनका निकटस्थसँग सम्बन्धित महत्वपूर्ण कागजातहरू बरामद गरिएको स्रोतको दाबी छ।

छापाको विस्तृत कारण तथा अनुसन्धानको विषयमा विभागले भने औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन ।

यो कारबाही व्यवसायी दीपक भट्टसँग जोडिएको घटनाक्रमसँग समेत सम्बन्धित रहेको बताइएको छ। जबरा र भट्टसँग कनेक्सन देखिएको भन्दै केही दिनअघि इनाम सापकोटालाई पक्राउ गरिएको थियो। यस्तै, सशस्त्र प्रहरीका एआईजी वंशीरााज दाहाललाई पनि यही प्रकरणमा निलम्बन गरी छानबिन अघि बढाइएको छ।

यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई उनकै निवासबाट मध्यराति नियन्त्रणमा लिएको थियो। तर पछि प्रहरीले उनलाई पक्राउ नभई सुरक्षाका लागि लगिएको दाबी गरेको थियो।

जबरासँग जोडिएको घटनाक्रममा अनुसन्धान अघि बढिरहेकै बेला सम्पत्ति शुद्धीकरण विभागले उनी, उनका आफन्त तथा निकटस्थ व्यक्तिहरूको घरमा छापा मारेको हो।

जबराविरुद्ध यसअघि संसद्मा महाभियोग प्रस्ताव दर्ता भएको थियो। उनी प्रधानन्यायाधीश पदबाट निलम्बितसमेत भएका थिए। लामो समयसम्म महाभियोग प्रक्रिया टुंगोमा नपुगेपछि उनको कार्यकाल समाप्त भएको थियो।

पछिल्लो समय सर्वोच्च अदालतको संवैधानिक इजलासले उनीविरुद्धको महाभियोगको औचित्य समाप्त भएको ठहर गर्दै त्यससम्बन्धी रिट खारेज गरेको थियो।