काठमाडौं - नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेविसंघका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वपार्टी केन्द्रीय सदस्यसमेत रहेका भट्टराईले देश तथा विदेशमा रहेका पार्टीका नेता–कार्यकर्ताबाट कांग्रेसलाई बलियो र एकताबद्ध बनाउन आफ्नो नेतृत्व आवश्यक रहेको सुझाव आएपछि उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरेको बताएका हुन्।
‘देश तथा विदेशबाटसमेत पार्टीलाई बलियो बनाएर एकताबद्ध गर्न तपाईंको नेतृत्व आवश्यक छ भनेर साथीहरूबाट सुझाव आएको छ,’ भट्टराईले भनेका छन्, ‘मैले त्यसलाई सम्मान गरेर उम्मेदवारी दिने निर्णय गरेको छु ।’
भट्टराईले आफ्नो उम्मेदवारी पद प्राप्तिका लागि मात्र नभई कांग्रेसलाई नयाँ युगको संवाहक र ऊर्जाशील पार्टी बनाउने स्पष्ट कार्यदिशाका लागि भएको बताएका छन्। उनले गुट र उपगुटको साँघुरो घेराबाट माथि उठेर नीति, विचार र विधिका आधारमा पार्टीलाई बलियो बनाउने प्रतिबद्धता जनाएका छन्।
उनले कांग्रेसभित्र नीतिगत र सांगठनिक पुनर्जागरण आवश्यक रहेको बताएका छन्। राष्ट्रियताको संरक्षण, लोकतन्त्रको सुदृढीकरण, युवा आवाजको सम्बोधन, संस्थागत भ्रष्टाचारको अन्त्य र पार्टी संगठनको सुदृढीकरणलाई उनले आफ्नो उम्मेदवारीका प्रमुख आधारका रूपमा अघि सारेका छन्।
भट्टराईले कांग्रेसलाई गुटबन्दी, नातावाद र कृपावादबाट मुक्त गर्दै योगदान, त्याग, इमानदारिता र सक्रियताका आधारमा नेता–कार्यकर्ताको मूल्यांकन गर्ने प्रणाली विकास गर्ने बताएका छन्। संगठनलाई वृहत्, जुझारु, गतिशील र प्रविधिमैत्री बनाउने उनको योजना छ।
नेविसंघको नेतृत्व गर्दा आफूले संगठन निर्माण र युवालाई गोलबद्ध गर्ने अनुभव हासिल गरेको उल्लेख गर्दै उनले त्यसलाई कांग्रेसको संगठन सुदृढीकरणमा उपयोग गर्ने बताएका छन्। उनका अनुसार आफू नेतृत्वमा रहँदा स्ववियु निर्वाचनमा नेविसंघले ८० प्रतिशतभन्दा बढी स्थानमा जित हासिल गरेको थियो।
भ्रष्टाचार र सुशासनलाई पनि उनले आफ्नो मुख्य एजेन्डा बनाएका छन्। नेविसंघको सभापति हुँदादेखि नै भ्रष्टाचारविरोधी अभियानमा सक्रिय रहेको उल्लेख गर्दै भट्टराईले राजनीतिलाई सेवाको माध्यम बनाउनुपर्ने, व्यापारको माध्यम बनाउन नहुने बताएका छन्। अख्तियारलगायतका निकायलाई स्वायत्त राख्ने, सार्वजनिक सेवा प्रवाहमा डिजिटल प्रविधिको प्रयोग बढाउने र संस्थागत भ्रष्टाचार अन्त्य गर्ने उनको प्रस्ताव छ।
भट्टराईले कांग्रेसलाई लोकरिझ्याइँ र अतिवाद दुवैबाट जोगाउनुपर्ने बताएका छन्। उनका अनुसार कांग्रेस मध्यमार्गी लोकतान्त्रिक शक्तिका रूपमा सबै वर्ग, समुदाय र विचारलाई समेटेर अघि बढ्नुपर्छ। उनले पछिल्लो समय देखिएको प्रियतावादी लोकरिझ्याइँ र पुरातनवादी सोच दुवै पार्टी र देशका लागि घातक रहेको बताएका छन्।

.gif)


