काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ।

केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ। मतदानका लागि निर्वाचन आयोगबाट मतपेटिकासमेत ल्याइसकिएको छ।

निर्वाचनमा करिब ५०० जना मतदान अधिकृत खटिने भएका छन्। महाधिवेशन प्रतिनिधिले मतदान गर्न २३ वटा मतपत्र प्रयोग गर्नुपर्नेछ। क्षेत्र, प्रदेश र विभिन्न क्लस्टरअनुसार २३ प्रकारका मतपत्र तयार पारिएको निर्वाचन समितिले जनाएको छ।

मतदान गर्न एक प्रतिनिधिलाई कम्तीमा ३० मिनेटदेखि ४५ मिनेटसम्म लाग्ने अनुमान निर्वाचन समितिको छ।

मतदानका लागि राष्ट्रिय सभागृह र खुलामञ्चमा केन्द्र तोकिएको छ। प्रदेशअनुसार फरक–फरक स्थानमा मतदानको व्यवस्था गरिएको छ।

राष्ट्रिय सभागृहस्थित ‘मतदान केन्द्र क’ मा वाग्मती प्रदेशका महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्।

त्यस्तै, खुलामञ्चस्थित ‘मतदान केन्द्र ख’ मा कोसी प्रदेशका प्रतिनिधिका लागि तराई–मधेस हल, मधेस प्रदेशका लागि तराई–मधेस हल, गण्डकी प्रदेशका लागि मिहाली हल तथा लुम्बिनी प्रदेशका लागि पहाड हल तोकिएको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समितिका प्रतिनिधिले पनि खुलामञ्चको पहाड हलबाट मतदान गर्ने व्यवस्था गरिएको छ।