काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क देशहरुमा कोरोनाविरुद्ध लड्न खोलिएको सामूहिक कोषमा १० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । ओलीले शुक्रबार जनताको नाममा विशेष सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।

घोषणा लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै प्रतिबद्धता र समर्थनका लागि ओलीलाई धन्यवाद दिएका छन् ।

शुक्रबार मध्य राती ट्विट गर्दै लेखेका छन्, कोभिड १९ आपतकालीन कोषमा १० करोड रुपैयाँ योगदानको घोषणाले महामारीविरूद्ध सार्क देशहरूको सामूहिक लडाईमा ओलीजीको प्रतिबद्धता र समर्थन प्रतिबिम्बित गर्दछ। हार्दिक धन्यवाद।

सार्क राष्ट्रका नेताहरुबीचको भिडियो कन्फ्रेन्समा मोदीले कोषको घोषणा गर्दै भारतले प्रारम्भमा १० मिलियन डलर सहयोग गर्ने बताएका थिए। मोदीको प्रस्तावलाई सबै राष्ट्रले समर्थन गरेका थिए।