काठमाडौं - गृहमन्त्री सुधन गुरुङले सरकारी गोप्य तथा संवेदनशील सूचना चुहाएर राज्य र संगठनप्रति विश्वासघात गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् ।
सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई गोप्य सूचना चुहाएको आरोपमा निलम्बन गरिएको घटनापछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले यस्तो चेतावनी दिएका हुन् ।
गृह मन्त्रालयले सोमबार साँझ गोप्य सूचना चुहाएको आरोपमा एआईजी दाहाललाई निलम्बन गरेको थियो। उनीमाथि छानबिन गर्न समिति समेत गठन गरिएको छ।
गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने कसैलाई पनि उन्मुक्ति नदिइने बताएका छन्।
‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ,’ उनले भनेका छन्।
गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको पनि गुरुङले उल्लेख गरेका छन्।

.gif)


